हामिले धेरैपटक सुनेका छौँ र सिकाइएका पनि छौँ, कि हाम्रा परमेश्वर चाहिँ आशिषका परमेश्वर हुनुहुन्छ, उहाँले आफ्ना जनहरुलाई आशिष दिनुहुन्छ, र यो सत्यता हो।

जीवनका अनेकन परिस्थिति र आयामहरुका बिचमा पनि परमेश्वरका आशिषहरु हाम्रा निम्ति सुन्दर छन् र प्रत्याभूत छन्। केवल हामी प्रभुमा छौँ भने उहाँका अपरम्पार आशिषको निम्ति योग्य छौँ ।

जीवनमा सबैकुरा ठिकठाक हुँदा त, हामिलाई लाग्छ कि हामी आशिषित छौँ, तर जब अफ्ट्यारोबाट भएर गुज्रिनुपर्छ, अनि अँध्यारोबाट भएर जानुपर्छ, तब आशिषको महसुस गर्न गार्‍हो हुन्छ।

कहिलेकाहीँ लाग्न सक्छ कि परमेश्वरको आशिषबाट हामी विमुख भएका छौँ । हाम्रो जीवनमा आशिष् दिने उहाँ पर हुनुभएको छ, जस्तै कि कोहि बच्चालाई छोडी तिनका संरक्षक छुट्टीमा गएका छन् ।

तर त्यो सत्य होइन । उहाँ हामि सँगै हुनुहुन्छ, र हामी उहाँबाटै आशिषको निम्ति बोलाइएका हौँ । उहाँले हामिलाई भरपुर आशिष दिन चाहानु हुन्छ, उहाँले आशिषको प्रतिज्ञा र निश्चयता गर्नुभएको छ ।


आशिषको विस्तार

हाम्रो जीवनको कुनै एक पक्षमा मात्र आशिष हुने र अर्का पक्षमा नहुने होभने जीवन कठिन हुनेछ । जसरी एउटा मुल निस्किएर विस्तारित भइ समस्त खेत-गहरा, गाउँ अनि नगरलाई नै सिंचित गर्छ, त्यस्तै आशिष मुल/जड कुरा हो, र त्यसका विस्तार आत्मिक, भौतिक र व्यवहारिक हुन् ।

जब हामिले आशिषका विस्तारहरु थाहा गर्छौं तब पक्कै पनि हाम्रो जीवनमा यो महसुस गर्न सक्नेछौँ कि, हामीमा परमेश्वरको आशिष चाहिँ निरन्त अपार, अटुट, अनि अचुक छ ।

आशिषका विस्तारहरु: परमेश्वरले हाम्रा निम्ति आत्मिक कुराको आशिष दिनुहुन्छ (एफि ३:१) । साथसाथै उहाँले भौतिक कुराहरुको आशिष दिनुहुन्छ (हाग्गै २:१९, २कोरि ९:८) र अर्को व्यवहारिक आशिष दिनुहुन्छ (व्यव१५:6; भजन१)

आत्मिक आशिषहरु भन्नाले: धार्मिकता, कृपा, परमेश्वरको ज्ञान-बुद्धि , परमेश्वरबाटको शक्ति, पवित्र आत्माको अभिषेक-अगुवाई र भरपुरि, पवित्र आत्माका फलहरु र वरदान जस्ता कुराहरु हुन् ।

भौतिक आशिषहरु भन्नाले: सन्तान-दरसन्तान-वृद्धि, फसल - खेतीबारी, जग्गा-जमिन, अनाज बस्तुभाउ घर, आवास-निवास, आभुषण, सुनचाँदी गरगहना जस्ता विभिद कुराहरु हुन् ।

व्यवहारिक आशिषहरु भन्नाले: विजय, सफलता, सत्ता अख्तियार, कुटनिती-मिलाप, प्रभाव, प्रताप, गौरव, पहिचान, सम्मान-सम्बन्ध जस्ता कुराहरु (व्यवहारिक जीवनका) आशिषअ हुन् ।

आशिषको विश्वसनीयता

अब के हाम्रा जीवनका सबै पक्षहरू समेट्ने यी आशिषहरु कत्तिको अडिग्, स्थिर र स्थाई हुन्छ त? के परमेश्वले आशिषको दियो बाल्नुहुन्छ र, जो कोही आएर फु.. गरेर त्यसलाई निभाउदैमा निभिजान्छ त?

जाँदैन, र त्यो दिगो अनि कायम रहन्छ । जब परमेश्वरले आशिष दिने ईच्छा गर्नुहुन्छ तब कसैले पनि त्यसलाई रोक्न सक्दैन । उहाँ कसैको बहकाउमा आउनुहुन्न र उहाँका आशिषहरु विश्वसनीय छन् ।

बालाक राजाले बालामलाई इस्राएलीजाती विरुद्ध स्राप दिन बोलाई पाठाउँछन् , तर इस्राएली जातिलाई त परमेश्वरले आशिष दिनुभएको थियो उनिहरु आशिषित थिए ।

उनलाई तीन पल्ट श्राप दिन लगाईन्छ, तर बालामले तिनैपल्ट उल्टै आशिष दिन्छन् । उनी भन्छन् कि, परमेश्वरले आशिष दिनुभएको छ र म त्यसलाई उल्टाउन सक्दिनँ ।

इस्राएलीहरु जस्तै हामी पनि आशिषको निम्ति बोलाइका हौँ । परमेश्वरबाटको आशिष हाम्रो निम्ति ख्रीष्ट येशूमा अझ पक्कासँग प्रदान गरिएको छ र कसैले पनि त्यसलाई उल्ट्याउन सक्दैनौँ ।

याकूबका सन्तानद्वारानै परमेश्वरले सबैलाई आशिष दिने प्रतिज्ञा गर्नुभयो, तर उनकै ससुराले उनका आशिष र मेहेनत ठग्न खोजे, र पनि परमेश्वरले यकूबका पक्षमा अझ धेरै आशिषहरु दिनुभयो ।

परमेश्वरको आशिष एक देखि अर्को पुस्तासम्म रहिरहने आशिष हो । आज हाम्रो विचमा नहुनुभएका र प्रभुमा सुतेका विश्वासी जनका छोराछोरीहरुमा पनि त्यो आशीष रहिनै रहनेछ ।

परमेश्वरको युगौँ देखिको मिसन वा उद्देश्य भनेको चाहिँ अब्राहम देखिनको आशिष तपाईं अनि म सम्म ल्याइपुर्याउनु हो, अनि तपाईं र मलाई त्यही आशिषको भागिदार बनाउनु हो ।